महिला टी–२० सिरिजको तेस्रो खेलमा नेपाल पराजित, मलेसिया २–१ को अग्रतामा

महिला टी–२० सिरिजको तेस्रो खेलमा नेपाल पराजित, मलेसिया २–१ को अग्रतामा

क्वालालम्पुर: घरेलु टोली मलेसियाविरुद्धको पाँच खेलको टी–२० सिरिजको तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको छ। यस जितसँगै मलेसियाले सिरिजमा २–१ को अग्रता बनाएको छ।

वायुमास ओभल स्टेडियममा पहिले ब्याटिङ गर्दै मलेसियाले २० ओभरमा चार विकेट गुमाउँदै १ सय २० रनको लक्ष्य निर्धारित गरेको थियो । मलेसियाकी ओपनर आइना हमिजाले सानदार प्रदर्शन गर्दै ५८ बलमा दुई चौकासहित ६१ रनको अर्धशतकीय पारी खेलिन्।

मास इल्साले ३० तथा वेन जुलियाले १६ रन जोडिन्। नेपालका लागि कविता कुँवर र कविता जोशीले समान दुई–दुई विकेट लिइन्।

जवाफी ब्याटिङमा नेपालले १ सय २१ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ७ रन मात्र बनाउन सक्यो ।

ओपनर सम्झना खड्का र रुबी पोद्दारले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए। सम्झना १८ रनमा आउट भइन् भने रुबीले ३७ बलमा ३१ रन जोडिन्। कप्तान इन्दु बर्माले २२ रन र कविता कुँवरले १५ रनको योगदान दिइन्। तर मध्यक्रमले अपेक्षित प्रदर्शन गर्न सकेन। बलिङमा मलेसियाकी नुर दानिया र आइस्या इलिसाले एक–एक विकेट लिइन्।

पहिलो खेलमा ३ रनले पराजित नेपालले दोस्रो खेल ६ विकेटले जित्दै सिरिज बराबरी गरेको थियो। अब नेपाललाई सिरिज जित्न बाँकी दुवै खेल जित्नैपर्ने हुन्छ ।