बारा क्रिकेट संघलाई नेशनल इन्फोटेक कलेजको एक वर्षे प्रायोजन

सिमरा: बारा जिल्ला क्रिकेट संघलाई नेशनल इन्फोटेक कलेज, वीरगञ्जले एक वर्षका लागि मुख्य प्रायोजन गर्ने भएको छ। वीरगञ्जमा शुक्रबार आयोजित कार्यक्रममा बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभातकुमार चौरसिया र नेशनल इन्फोटेक कलेजका निर्देशक तथा पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनिष सिंहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार इन्फोटेक कलेजले बारा क्रिकेट टिमलाई आर्थिक सहयोगका साथै जर्सी, खेल पोशाक र क्रिकेट सामग्री उपलब्ध गराउनेछ । सम्झौता अवधिभर टिमले इन्फोटेकको लोगो अंकित जर्सी प्रयोग गर्नेछ। तर सम्झौताबाट प्राप्त हुने रकम भने सार्वजनिक गरिएको छैन ।
सोही अवसरमा बारा क्रिकेट टिमको नयाँ जर्सी पनि सार्वजनिक गरियो । कप्तान अनिल शाहसहित पवन सर्राफ, साहिल पटेल, निरज यादव र अरनिको यादवले लोगो अंकित जर्सी सार्वजनिक गरेका थिए ।

समारोहमा राष्ट्रिय टिमका पूर्व कप्तानद्वय विनोद दास र पवन अग्रवाल, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, कोषाध्यक्ष सुवास जयसवालसहित संघका पदाधिकारीको उपस्थिति थियो ।
पूर्व कप्तान र हाल नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजरसमेत रहेका विनोद दासले सम्झौताले स्थानीय खेलाडीलाई उत्साहित बनाउने बताए। अर्का पूर्व कप्तान अग्रवालले क्रिकेटको विकासलाई टेवा पुग्ने विश्वास व्यक्त गरे।
इन्फोटेक कलेजका निर्देशक सिंहले बारा जिल्लाले राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा ठूलो योगदान दिएको भन्दै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई थप सहयोग गर्न आफू तयार रहेको बताए। बारा क्रिकेट संघका अध्यक्ष चौरसियाले भने ‘सम्झौताले संघ र खेलाडी दुवैलाई हौसला दिएको छ, जसले बारा क्रिकेटलाई अझ उचाइमा पुर्याउनेछ।’
मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवालले दुई पक्षबीच सम्झौता सम्भव बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । जयसवालले बारामा ठूलो सम्भावना रहेको र यसतर्फ ध्यान दिन सके आगामी दिनमा अझ उत्कृष्ट खेलाडी उत्पादन हुने बताए ।
हाल बारा जिल्लाबाट अनिल साह, मोहम्मद आदिल आलम, पवन सर्राफ, साहिल पटेल, अलिशा यादवजस्ता खेलाडी राष्ट्रिय टिममा प्रतिनिधित्व गर्दै आएका छन्।