टप एण्ड टी–२० सिरिजमा नेपालको दोस्रो जित, मेलर्वन रेनेगेड्स ३३ रनले पराजित

टप एण्ड टी–२० सिरिजमा नेपालको दोस्रो जित, मेलर्वन रेनेगेड्स ३३ रनले पराजित

काठमाडौंः अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिज अन्तर्गत पाँचौं खेलमा नेपालले मेलर्वन रेनेगेड्सलाई ३३ रनले पराजित गरेको छ। काजालिस ऐरिनामा भएको खेलमा नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमै १०६ रनमा समेटियो।

रेनेगेड्सका अर्जुन नैरले सर्वाधिक २२ बलमा २६ रन जोडे। ह्यारी डिक्सनले १६ र ओलिभर पिकले १८ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्।

नेपालका लागि सोमपाल कामी बलिङतर्फ चम्किए। उनले ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट हात पारे। साहब आलम र रुपेश सिंहले एक–एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले २२ बलमा २९ रन जोडे। कप्तान दिपेन्द्र सिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७, आरिफ शेखले १२ रन बनाए। रेनेगेड्सका फर्गुस ओ’निल, कालुम स्टो, लच्लान ब्याङ्स र मिचेल आर्चरले समान २–२ विकेट लिए।

नेपालले अघिल्ला तीन खेलमा हार बेहोरेको भए पनि चौथो खेलमा हर्बट हुरिकेन्सलाई ६६ रनले हराएको थियो।