अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालको तेस्रो पराजय

अष्ट्रेलिया: अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ। नदर्न टेरिटोरीमा सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो ।
जितका लागि १७६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा सात विकेट गुमाउँदै १४४ रनमै समेटियो। नेपालका ओपनर कुशल भुर्तेलले १३ बलमा चार चौका सहित २५ रन जोडे। भीम सार्की मात्र एक रनमा आउट भए। तेस्रो विकेटका लागि आसिफ शेख र कप्तान रोहित पौडेलले ८७ रनको साझेदारी गर्दै नेपाललाई खेलमा टिकाएका थिए।
आसिफले ४८ बलमा चार चौका र एक छक्का सहित ५३ रन बनाए भने रोहित ३३ रनमा आउट भए। आसिफ रन आउट भएपछि नेपाल दबाबमा पर्यो। आशा गरिएका दीपेन्द्र सिंह ऐरी मात्र १ रनमा आउट भए। कुशल मल्ल ११ रनमा समेटिए भने आरिफ शेख अविजित ८ रनमा रहे। बलिङतर्फ मेलबर्न स्टार्सका अष्टिन एनलेजार्क र डाउ वारेनले समान दुई–दुई विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले २० ओभरमा सात विकेटको क्षतिमा १७६ रन बनाएको थियो। ओपनर क्याम्पबेल केलावे सोमपाल कामीको बलमा दुई रनमा आउट भए पनि थोमस रोजर्स र बेल्क म्याकडोलान्डले दोस्रो विकेटका लागि १२२ रनको साझेदारी गर्दै इनिङ्स उकासे।
म्याकडोलान्डले ४७ बलमा सात चौका र दुई छक्का सहित ७४ रन बनाए भने रोजर्सले ४६ बलमा सात चौका र एक छक्कासहित ४६ रनको योगदान दिए।
नेपालका बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २६ रन खर्चेर तीन विकेट लिए । सोमपाल कामी र सहाब आलमले समान एक–एक विकेट लिए।
यो हारसँगै नेपाल सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ। यसअघि नर्दन टेरोटोरी स्ट्राइक्स् र बंगलादेश ‘ए’ संग नेपाल हारेको थियो। नेपालले अब मंगलबार होबार्ट ह्युरिकेन्ससँग चौथो खेल खेल्नेछ।