वीरगंजमा एभरेस्ट महिला भलिबल लिगको ट्रफी र मधेश युनाइटेडको नयाँ जर्सी सार्वजनिक

वीरगंज: वीरगंजमा बिहीबार एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को ट्रफी अनावरण गरिएको छ। वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेश युनाइटेडकी ब्रान्ड एम्बेसडर नीति शाहले संयुक्त रूपमा ट्रफीको अनावरण गरे।
मधेश स्पोर्टस प्रा.लिद्धारा आयोजित कार्यक्रममा मेयर सिंहले मधेश युनाइटेडको नयाँ जर्सी सार्वजनिक गर्दै टोलीकी मार्की खेलाडी निरुता ठगुन्नालाई हस्तान्तरण गरे। उनले भलिबलको विकास र महिला सशक्तीकरणमा लिगको योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, मधेश युनाइटेडका सञ्चालक विशाल अग्रवाललगायतले खेलकुदको सामाजिक, मानसिक र शारीरिक लाभबारे चर्चा गर्दै मधेशमा यस्ता गतिविधि विस्तार गर्नुपर्नेमा जोड दिए।
मधेश युनाइटेडकी सञ्चालन प्रमुख खुशी शिवाकोटीले टोलीको विगत, सिकाइ र आगामी योजनाबारे जानकारी दिँदै यसपटक नेदरल्याण्डका तीन अन्तर्राष्ट्रिय खेलाडी अनुबन्धन गरिएको बताइन्। मार्की खेलाडी निरुताले यसपटक ट्रफी मधेशमै ल्याउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाली सेना श्रीजंग गणका सेनानी लोकेन्द्र कार्की, अनुसन्धान विभागका उपनिर्देशक सन्तोष ढुंगेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख टिकाराज चौलागाईं, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठलगायतको उपस्थिति थियो।