टप इण्ड टी–२० सिरिजका लागि ललितको स्थानमा शाहब आलम

काठमाडौं: अस्ट्रेलियाको डर्विनमा हुने टप इण्ड टी–२० सिरिजमा ललित राजवंशीको स्थानमा शाहब आलम खेल्ने भएका छन्। ललितकी आमाको आइतबार निधन भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनको स्थानमा शाहबलाई टोलीमा समावेश गरेको हो।
क्यानले यसअघि नै सिरिजका लागि टोली घोषणा गरिसकेको भए पनि आपतकालीन परिस्थितिमा एक मात्र परिवर्तन गरिएको हो। टोली सोमबार अस्ट्रेलिया प्रस्थान गर्नेछ। त्यसअघि आइतबार क्यानले एक कार्यक्रममार्फत खेलाडीलाई बिदाइ गर्दै शुभकामना दिएको छ। बिदाइ कार्यक्रममा शाहब पनि सहभागी रहेका छन्।
अगस्ट १४ देखि २४ सम्म हुने यस सिरिजलाई अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त संयुक्त छनोटको तयारीको रूपमा लिइएको छ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम, शाहब आलम।