आदिलको ‘कमब्याक मोमेन्ट’: सबैले चाहेर पनि गोलाप्रथाले पठायो काठमाडौं गोर्खाजमा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) २ को मिनी अक्सन शनिबार सम्पन्न हुँदा ३७ खेलाडी विभिन्न टोलीको स्वामित्वमा पुगे । तर, अक्सनको सबैभन्दा रोमाञ्चक क्षण मोहम्मद आदिल आलमको नाम घोषणासँगै सुरु भयो।
अक्सनको अन्त्यतिर मात्र नाम आएको आदिल ‘ए’ श्रेणीका खेलाडी हुन् र उनीमाथि बोली लगाउन सबै टोलीले बजेट जोगाएर राखेको देखियो। जब उनको नाम आयो, अक्सन हलमा प्रतिस्पर्धाको ताप चुलियो । सहभागी आठै टोलीले उनलाई पाउन अधिकतम १५ लाख रुपैयाँको बोली हाने ।
अन्ततः गोलाप्रथाको भाग्यले आदिललाई काठमाडौं गोर्खाजमा पुर्यायो। यसरी उनी एनपिएल २ मा सबैको चाहना भए पनि एक्लो टोलीका खेलाडी बने ।
गत संस्करणमा प्रतिबन्धका कारण बाहिरिएका आदिलको यो पुनरागमनलाई क्रिकेट प्रेमीले ठूलो ‘कमब्याक मोमेंट’ का रूपमा हेरिरहेका छन्। पहिलो संस्करणमा अनिल साहमाथि पनि यस्तै प्रतिस्पर्धा भएको थियो । जसमा उनी जनकपुर बोल्ट्स पुगेका थिए। यसपटक जनकपुरले अनिललाई रिटेन गर्दै अघिल्लो वर्षको च्याम्पियन टोलीमै कायम राखेको छ।