एनपिएल दोस्रो संस्करणको अक्सनमा बाराका आदिल आलमसहित आठ खेलाडी ‘ए’ श्रेणीमा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणको अक्सनमा बाराका मोहम्मद आदिल आलमसहित आठ जना क्रिकेटर ‘ए’ श्रेणीमा परेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सार्वजनिक गरेको अन्तिम सूचीमा कुल १५० खेलाडी रहेका छन् । जसमा तीन श्रेणीमा वर्गीकरण गरिएको छ।
प्रतिबन्धका कारण पहिलो संस्करण गुमाएका आदिल यसपटक अदालतबाट सफाइ पाएपछि अक्सनमा समावेश भएका हुन्। उनीसँगै ‘ए’ श्रेणीमा परेका अन्य खेलाडीहरूमा सुनाम गौतम, सूर्य तामाङ, शरद भेषावाकर, पवन सर्राफ, देव खनाल, दिलिप नाथ र अर्जुन साउद छन्।
पहिलो संस्करणमा अर्जुन र सूर्य लुम्बिनी लायन्समा, दिलिप र सुनाम पोखरा एभेन्जर्समा, देव कर्णाली याक्सबाट र शरद चितवन राइनोजबाट खेलेका थिए। पवन सर्राफ र सुनाम गौतमले भने चोटका कारण पहिलो संस्करण गुमाएका थिए।
अक्सन यही शनिबार हुने तय भएको छ। एनपिएल अक्सनका लागि कुल ४५८ खेलाडीले नाम दर्ता गराएका थिए, जसबाट क्यान र सहभागी टोलीका सिफारिसमा १५० जनाको सूची अन्तिममा सार्वजनिक गरिएको हो। अक्सनमा जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ।
ए श्रेणीका लागि ४ खेलाडीको आवश्यकता
अक्सनमा ‘ए’ श्रेणीमा जम्मा ४ खेलाडीको आवश्यकता रहेकाले बाँकी खेलाडी दोस्रो चरणमा ‘बी’ श्रेणीमा झर्ने व्यवस्था गरिएको छ।
कुन श्रेणीमा कति खेलाडी आवश्यक?
- श्रेणी ‘ए’ – ४
- श्रेणी ‘बी’ – २३
- श्रेणी ‘सी’ – १०
खेलाडीको न्युनतम र अधिकतम मूल्य सीमा
- श्रेणी ‘ए’ – न्युनतम १० लाख देखि अधिकतम १५ लाख रुपैयाँ
- श्रेणी ‘बी’ – न्युनतम ५ लाख देखि अधिकतम १० लाख रुपैयाँ
- श्रेणी ‘सी’ – न्युनतम २ लाख देखि अधिकतम ५ लाख रुपैयाँ
पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी विभिन्न टोलीमा अनुबन्ध भएका थिए। तीमध्ये ५१ खेलाडीलाई दोस्रो संस्करणका लागि टोलीहरूले निरन्तरता दिएका छन्।
नेपाल प्रिमियर लिगमा यस वर्ष पनि ८ टोलीले प्रतिस्पर्धा गर्दैछन्। अक्सनमार्फत टोलीहरूले बाँकी स्थान पूर्ति गर्नेछन्।