टप इण्ड टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा, अनिल र आदिल टिममा परेनन्

टप इण्ड टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा, अनिल र आदिल टिममा परेनन्

काठमाडौं: अस्ट्रेलियाको डर्विनमा अगस्ट १४ देखि २४ तारिखसम्म आयोजना हुने टप इण्ड टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीमा कुशल मल्लको पुनरागमन भएको छ भने अनिलकुमार साह र आदिल अंसारी अन्तिम १५ सदस्यीय टोलीमा स्थान बनाउन असफल भएका छन्।

कुशल मल्ल यसअघि स्कटल्यान्ड टुरको टोलीमा समावेश हुन सकेका थिएनन्। तर यो सिरिजमार्फत उनी राष्ट्रिय टिममा फर्किएका छन्। त्यस्तै लामो समयपछि प्रशिक्षणमा फर्किएका आदिलको पुनरागमनको सम्भावना देखिए पनि अन्तिम टोलीमा उनको नाम परेन।

यस प्रतियोगितामा नेपालसहित ११ टोलीको सहभागिता रहनेछ। नेपालले लिग चरणमा कुल ६ खेल खेल्नेछ। नेपालले आफ्नो पहिलो खेल अगस्ट १५ मा स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ।

प्रतियोगितामा सहभागी टोलीहरूमा नेपाल, पाकिस्तान ‘शाहिन्सी’ (पाकिस्तान ए), बंगलादेश ए, अमेरिकाको माइनर लिग विजेता सिकागो किङ्ग्समेन र अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टिम रहेका छन्।

लिग चरणपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपालले यो प्रतियोगितालाई अक्टोबरमा हुने आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा लिएको छ।

यसअघि नेपालले आगामी सेप्टेम्बरमा ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय शृंखला पनि खेल्न लागेको छ।

टप एन्ड टी-२० सिरिजका लागि नेपाली टिम:

  • रोहित कुमार पौडेल (कप्तान)
  • दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
  • सन्दीप लामिछाने
  • आसिफ शेख
  • कुशल मल्ल
  • गुल्सन झा
  • आरिफ शेख
  • भीम सार्की
  • रुपेश कुमार सिंह
  • सोमपाल कामी
  • नन्दन कुमार यादव
  • करण केसी
  • रिजन ढकाल
  • लोकेश बम
  • ललित नारायण राजबंशी