एसिया रग्बी च्याम्पियनसिपका लागि नेपालको यु–२० महिला रग्बी टोली घोषणा

काठमाडौं: नेपाल रग्बी संघले भारतमा हुने एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप २०२५ का लागि नेपाली महिला टोली घोषणा गरेको छ। संघले आइतबार १३ सदस्यीय नेपाली महिला टोली सार्वजनिक गरेको हो।
भारतको बिहारस्थित राजगीर स्पोर्ट्स कम्प्लेक्समा अगष्ट ९ र १० तारिखसम्म आयोजना हुने च्याम्पियनसिपमा एसियाका विभिन्न ११ देशका आठ महिला र आठ पुरुष टोलीले प्रतिस्पर्धा गर्नेछन्।
घोषित नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की बलम्पाकी मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोशना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रामिरा शाही रहेका छन्।
टोलीको प्रशिक्षक सावित्री पुर्जा रहेकी छन्। महासचिव गोविन्द घिमिरेका अनुसार नेपाली टोलीले सर्लाहीको राधाकृष्ण खेलमैदानमा हालैसम्म प्रशिक्षण लिइरहेको छ। भारतको मौसमअनुसार टोलीलाई तयारी गराउन पछिल्लो एक महिनादेखि विशेष तालिम दिइएको उनले जानकारी दिए।
घोषित टोली प्रतियोगितामा सहभागी हुन साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। यसअघि यसै उमेर समूहको प्रतियोगिता नेपालमै आयोजना गरिएको थियो।
नेपाल रग्बी संघले यस प्रतियोगिताबाट नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय अनुभव सँगाल्ने र भविष्यका लागि थप आत्मविश्वासी बन्ने अपेक्षा राखेको छ।