नेपाल तेक्वान्दो महासंघ (आईटिएफ) अन्तर्गत तेक्वान्दो खेलाडीको ग्रेडिङ परीक्षा सम्पन्न

ललितपुरः नेपाल तेक्वान्दो महासंघ (आईटिएफ) अन्तर्गत ललितपुरको विभिन्न डोजाङमा आवद्ध तेक्वान्दो खेलाडीको ग्रेडिङ परीक्षण तथा पावर ब्रेकिङ प्रतियोगिता सम्पन्न भएको छ ।
ललितपुरस्थित गम्भीर समुन्द्र सेतु स्कुल र वेस्ट विङ्ग स्कुलको परिसरमा सम्पन्न परीक्षामा वेस्ट विङ्ग स्कुल, टीम सरकार तेक्वान्डो एन्ड मार्शल आर्ट क्लब र स्काइलाइट स्कुलका गरी एक सय भन्दा बढी आईटिएफ तेक्वान्डो खेलाडीले सहभागिता जनाएका थिए ।
नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्माको अध्यक्षतामा तथा प्रविणकुमार कार्कीको प्रमुख आतिथ्यतामा परीक्षा सम्पन्न भएको हो । ग्रेडिङ परिक्षण कार्यबाहक अध्यक्ष विकास केसीले ग्रेडिङ परीक्षा लिएका थिए ।
यसैगरी पावर ब्रेकिङमा पुरुषतर्फ मिल्टन फुँयाल र महिलातर्फ हेनशिका शाही ठकुरी उत्कृष्ट घोषित भएका छन् ।
कार्यक्रममा कृष्ण गोपाल रजथला, रविन कुमार पोखरेल, निरा श्रेष्ठ, देवेन्द्र महर्जन, निरोज राना मगर, सुशिल सुवेदीको उपस्थिति रहेको थियो । कार्यक्रमलाई वेस्ट विङ्ग स्कुलका प्रमुख राजेश बस्नेत, टिम सरकार तेक्वान्डो तथा स्काइलाइट स्कुलका प्रमुख विष्णु भण्डारी, निमा तामाङ र रामित बस्नेतको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।