‘खेलाडी: संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन, ७७ खेलाडीको प्रेरणादायी यात्रा

काठमाडौंः नेपाली खेलकुदका विविध खेलका ७७ खेलाडीको जीवन यात्रा समेटिएको पुस्तक ‘खेलाडी: संघर्षदेखि सफलतासम्म’ सार्वजनिक गरिएको छ। वरिष्ठ खेलकुद पत्रकार विष्णु थापाद्वारा लेखिएको सो पुस्तक शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले विमोचन गरेका हुन् ।
नेपाल माला मिडिया प्रालिद्वारा प्रकाशित २६० पृष्ठको पुस्तकमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा योगदान पु-याएका खेलाडीहरूको संघर्ष, उपलब्धि र प्रेरणादायी जीवनकथा समेटिएको छ।
कार्यक्रममा मन्त्री सिंहले खेलकुदलाई राष्ट्रको समृद्धिमापन गर्ने सूचकका रूपमा ब्याख्या गर्दै पुस्तकले भावी पुस्तालाई प्रेरणा दिने उल्लेख गरे। ‘यस पुस्तकले खेलकुदको इतिहास समेट्नुका साथै नयाँ पुस्ताका लागि उत्प्रेरकको काम गर्नेछ’ उनले भने।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदका समाचारहरू पत्रपत्रिकामा प्रकाशित भएपनि ती सामग्री पुस्तकको रूपमा दस्तावेज हुन नसकेको अवस्थामा थापाको प्रयास प्रशंसनीय भएको बताए। ‘खेलाडीको संघर्ष र सफलताको कथा लेखिनु आवश्यक छ। यस पुस्तकले नयाँ लेखकलाई पनि प्रेरणा दिनेछ’ घिसिङ भने ।
नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले पुस्तकमा समेटिएका खेलाडीका कथाहरूले नेपाली खेलकुदमा आउने चुनौती र त्यसलाई पार गरेर प्राप्त गरिएका सफलताको गाथा प्रस्तुत गरेको बताए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलकर्मीको जीवनका अनुभव दस्तावेज बनाउनु महत्त्वपूर्ण रहेको बताए।
पुस्तकका लेखक विष्णु थापाले नेपाली खेलकुदले भोगेका उतारचढाव, चुनौती, संघर्ष र सफलताको कथा पुस्तकमा समेटिएको जानकारी दिए। ‘पुनर्जागरण साप्ताहिकदेखि विभिन्न पत्रपत्रिकामा लेखिएका सामग्रीलाई एकीकृत गर्दै पुस्तक तयार गरिएको हो’ थापाले सुनाए ।
थापाले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने जितबहादुर केसीदेखि हालै सम्पन्न पेरिस पारालिम्पिक २०२४ मा कांस्य पदक जितेकी पलेशा गोवर्द्धनसम्मका खेलाडीको जीवनलाई पुस्तकमा समेटिएको बताए।
पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील थापा हाल अन्नपूर्ण पोष्ट दैनिकमा आवद्ध छन्। खेलकुदसंग गहिरो नाता राख्ने थापाको पुस्तकले नेपाली खेल पत्रकारिता र खेल इतिहासमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ।