दशौं राष्ट्रिय खेलकुदको मिति चाँडै सार्वजनिक हुने: युवा तथा खेलकुद मन्त्री चौधरी

दशौं राष्ट्रिय खेलकुदको मिति चाँडै सार्वजनिक हुने: युवा तथा खेलकुद मन्त्री चौधरी

काठमाडौं: युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै नै सार्वजनिक गरिने बताएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार आयोजित एक वर्षे कार्य सम्पादन र नीतिगत सुधार सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मिति तत्काल सार्वजनिक गर्न निर्देशन दिइसकेको जानकारी दिए।

मन्त्री चौधरीले मिति टुंग्याउने अन्तिम तयारी भइरहेको छ र अब ढिलाइ नगरिने बताए । ‘राष्ट्रिय खेलकुदजस्तो ठूलो र राष्ट्रिय गौरवको कार्यक्रमको मिति पटकपटक सर्ने स्थिति आउनु दुर्भाग्यपूर्ण हो ‘मन्त्री चौधरीले भने ‘अब मिति चाँडै घोषणा हुनेछ।’

यसअघि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तीनपटक मिति तय भएर पनि सञ्चालन हुन सकेको थिएन। पहिलोपटक गत वर्ष मंसिरमा गर्ने भनिएको प्रतियोगिता चैतमा सारिएको थियो भने त्यसपछि फेरि जेठमा सारिए पनि आयोजना हुन सकेन।

खेलकुद क्षेत्रका विज्ञ र खेलाडीहरू राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित र समयमै गर्नुपर्ने माग गर्दै आएका छन्। यो प्रतियोगिता विभिन्न खेलका लागि राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक मञ्चका रूपमा लिइन्छ।

मन्त्री चौधरीले अबदेखि यस्ता ठूला प्रतियोगिताहरू तय भएको समयमा आयोजना गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताए।