नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा २७ करोड ६८ लाखको कारोबार

क्यानलाई २ करोड ४६ लाख बचत
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणबाट कुल २७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमितिको बिहीवार बसेको बैठकमा प्रस्तुत भएको आयव्यय विवरण अनुसार उक्त प्रतियोगिताबाट २ करोड ४६ लाख रुपैयाँ बचत भएको छ।
क्यानले जारी गरेको विज्ञप्ति अनुसार एनपिएल आयोजनाका लागि २० करोड १५ लाख रुपैयाँ खर्च गरिएको थियो। टिकट तथा कमर्सियल अधिकार (राइट) बाट फ्रेन्चाइज टोलीलाई कर कटौतीपछि ५० प्रतिशत रकम प्रदान गरिएको छ। उक्त हिसाबले ८ फ्रेन्चाइज टोलीले जम्मा ४ करोड ३७ लाख रुपैयाँ प्राप्त गरेका छन्।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार संघले सातै प्रदेश क्रिकेट संघलाई १० लाखका दरले ७० लाख रुपैयाँ वितरण गरेको छ। बाँडफाँड अघि क्यानले खुद रूपमा ७ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ।
एनपिएलको आयव्यय सार्वजनिक गर्नुपर्छ भन्ने माग निकै समयदेखि उठिरहेको थियो। क्यानभित्रै पनि खर्च र आम्दानीको पारदर्शिताबारे प्रश्न उठेपछि युवा तथा खेलकुद मन्त्रालयले समेत छानबिन थालेको थियो। यस्तै बहसका बीच क्यानले उक्त विवरण सार्वजनिक गरेको हो।
क्यानका प्रवक्ता लामाले अब दोस्रो संस्करणको तयारी तीव्र रूपमा अगाडि बढेको जानकारी दिएका छन्। साथै बाँकी विषयहरूबारे केही दिनभित्र जानकारी दिइने उनले बताए।