टेबल टेनिस विश्वकप दक्षिण एसियन छनोट काठमाडौंमा हुने

काठमाडौं: टेबल टेनिस विश्वकप २०२६ का लागि दक्षिण एसियन क्षेत्र छनोट प्रतियोगिता यही साउन १४ र १५ गते काठमाडौंमा हुने भएको छ। एसियन टेबल टेनिस युनियन (एटीटीयू) को वार्षिक क्यालेन्डरअनुसार नेपालले यस क्षेत्रीय प्रतियोगिताको आयोजना गर्न लागेको हो।
प्रतियोगिता काठमाडौंको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ। प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्स गरी पाँच देशका ४२ खेलाडीले सहभागिता जनाउनेछन्।
भारतबाट १० खेलाडी, श्रीलंकाबाट ८, बंगलादेश र माल्दिभ्सबाट समान ८–८ जना तथा नेपालबाट पनि ८ जना खेलाडी सहभागी हुनेछन्। प्रतियोगितामा पुरुष र महिला टोलीगत (टिम इभेन्ट) खेलहरू सञ्चालन हुनेछन्। टिम इभेन्टको आधारमा नै छनोट हुनेछ।
यो प्रतियोगिताबाट पहिलो स्थान हासिल गर्ने टोलीले आगामी सन् २०२६ मा इङ्ल्यान्डमा आयोजना हुने विश्व टिम टेबल टेनिस च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछ।
प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ। टेबल टेनिसको विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अनुभव सँगाल्नका लागि यो प्रतियोगिता नेपालका लागि महत्त्वपूर्ण मानिएको छ।