एसियाली जुनियर तथा क्याडेट तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

एसियाली जुनियर तथा क्याडेट तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

काठमाडौंः मलेसियाको सरावकमा आयोजना हुने दसौं एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जी–४) मा सहभागी हुने नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरिएको छ।

प्रतियोगितामा सहभागी हुने नेपाली टोलीमा पाँच खेलाडीसहित सात सदस्य रहेका छन्। खेलाडीहरूमा पुरुषतर्फ ५८ केजी तौल समूहमा भरतसिंह महता, ६३ केजीमा अमिर भ्लोन रहेका छन्। यस्तै महिलातर्फ ५७ केजीमा पलेशा गोबर्धन, ४७ केजीमा कामना प्रसाईं र रेणु तामाङ छन्।

नेपाली खेलाडीले अगस्ट १ (साउन १७) मा आफ्नो प्रतिस्पर्धा गर्नेछन् । टोलीको व्यवस्थापनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रामचन्द्र श्रेष्ठ छन् भने प्रशिक्षकमा कविराज नेगी छन्।

बिदाइसहित खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै राखेपका सदस्य सचिव टंकलाल घिसिङले देशको प्रतिष्ठा उच्च बनाउने गरी प्रतिस्पर्धा गर्न आग्रह गरे। बिदाइ कार्यक्रममा राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टको पनि उपस्थिति थियो।