प्रधानमन्त्री ओलीद्वारा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिरभित्र सम्पन्न गर्न निर्देशन

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय छलफलका क्रममा प्रधानमन्त्री ओलीले सन् २०२६ मा जापानमा आयोजना हुने एसियन गेम्सको पूर्वसन्ध्यामा हुने राष्ट्रिय प्रतियोगिता देशको इज्जतसँग जोडिएको महत्वपूर्ण अवसर भएकाले यसको तयारी भव्य र व्यवस्थित ढंगले गर्नुपर्नेमा जोड दिए।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले प्रतियोगिताको मिति र स्थान यथेष्ट अध्ययनपछि निर्धारण गर्न र एकपटक निर्णय गरिसकेपछि त्यसमा फेरबदल नगर्न समेत आग्रह गरे। उनले मन्त्रालय र परिषद्को नेतृत्वबीच आपसी समन्वय अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य भएको बताए।
प्रधानमन्त्री ओली राष्ट्रिय खेलकुद परिषद्का संरक्षकसमेत रहेका छन्। बालुवाटारमा सम्पन्न छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत उच्च अधिकारीहरूको सहभागिता थियो।