एनएसपीएलका लागि खेलाडी दर्ता खुला, भदौ ८ सम्म आवेदन दिन सकिने

एनएसपीएलका लागि खेलाडी दर्ता खुला, भदौ ८ सम्म आवेदन दिन सकिने

सिमराः नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) टी-१० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया सुरु गरिएको छ। प्रतियोगिताको आयोजना डिजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले गर्नेछ।

प्रतियोगितामा सहभागी हुन चाहने नेपाली क्रिकेट खेलाडीहरूले भदौ ८ गतेसम्म रजिस्ट्रेसन गर्न सक्ने आयोजकले जनाएको छ। खेलाडीले आफ्नो भूमिका अनुसार फरक शुल्क तिर्नुपर्नेछ। ब्याट्सम्यान र बलरले रजिस्ट्रेसनका लागि एक हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने अलराउण्डर खेलाडीले एक हजार दुई सय रुपैयाँ तिर्नुपर्नेछ।

डिजीआर स्पोर्ट्सका अनुसार प्रतियोगिता नेपालकै पहिलो व्यावसायिक टी-१० लिगका रूपमा स्थापित हुने लक्ष्यसहित आयोजना हुँदैछ। यस प्रतियोगिताबाट नेपाली युवालाई क्रिकेटतर्फ प्रोत्साहित गर्नुका साथै नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्य राखिएको छ।

रजिस्ट्रेसन प्रक्रिया, छनोट मापदण्ड तथा प्रतियोगिता मिति लगायतका थप विवरण चाँडै सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।