चितवन राइनोजले परिवर्तन गर्यो लोगो

सिमराः नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि चितवन राइनोजले आफ्नो लोगोमा महत्वपूर्ण परिवर्तन गरेको छ। क्लबले सार्वजनिक गरेको नयाँ लोगोमा गैंडा अर्थात ‘राइनोज’लाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ।
‘गत सिजनको लोगोमा ‘चितवन’ शब्द अगाडि राखिएको थियो, जुन शहरको पहिचानमा केन्द्रित थियो। तर, यसपटकको लोगोमा गैंडा प्रमुख बनेको छ। गैंडा हाम्रो टिमको मर्म र फ्यानहरुको भावना दुवैसँग जोडिएको प्रतीक हो” क्लबको विज्ञप्तिमा उल्लेख छ।
चितवन राइनोजका अध्यक्ष आयुश न्यौपानेका अनुसार नयाँ लोगो फ्यानहरुको रुचि र टिमको भावना अझ स्पष्ट रूपमा दर्शाउने प्रयास हो। नयाँ लोगो र रणनीतिक तयारीमार्फत चितवन राइनोज यसपटक मैदानमा नयाँ ऊर्जा र उत्साहका साथ उत्रने तयारीमा छ।
आगामी संस्करणका लागि क्लबले कप्तान तथा मार्की खेलाडी कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहोरा, अमरसिंह राउटेला र गौतम केसीलाई रिटेन गरेको छ। गत संस्करणमा चितवन राइनोजले चौथो स्थान हासिल गरेको थियो।