नेपाललाई दोस्रो पटक ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड

नेपाललाई दोस्रो पटक ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड

काठमाडौं: नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड दोस्रो पटक जित्न सफल भएको छ। सिंगापुरमा आयोजित आईसीसीको वार्षिक सम्मेलनका क्रममा नेपाल क्रिकेट संघ (क्यान) लाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।

आईसीसीका अध्यक्ष जय शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई अवार्ड हस्तान्तरण गरेका हुन् । नेपालले गत वर्ष पनि यही अवार्ड जितेको थियो। डिजिटल माध्यममार्फत फ्यानहरूसँगको गहिरो सम्पर्क, उत्कृष्ट सामग्री प्रस्तुति र व्यापक सहभागिता मूल्यांकन गर्दै आईसीसीले नेपाललाई दोस्रोपटक यो सम्मान प्रदान गरेको हो ।

अवार्डसँगै नेपाली क्रिकेटले डिजिटल क्षेत्रमा देखाएको प्रगति र नविन प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च मूल्यांकन गरिएको छ। क्यानको डिजिटल टिम, विभिन्न जिल्ला तथा प्रादेशिक क्रिकेट संघहरू र सामाजिक सञ्जालमार्फत सक्रिय फ्यानहरूको निरन्तर योगदानले नेपाललाई यो सफलताको शिखरमा पुर्‍याएको बताइएको छ।

क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यस उपलब्धिलाई सम्पूर्ण नेपाली क्रिकेटप्रेमीका लागि गर्वको विषय भएको बताएका छन्।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र होइन, डिजिटल क्रिकेट मार्केटिङ र फ्यान इन्गेजमेन्टको क्षेत्रमा पनि आफ्नो उपस्थिति मजबुत बनाइरहेको छ। यो अवार्डले नेपाली क्रिकेटलाई थप उत्साह र अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ।