आईसीसीको मञ्चमा नेपाल प्रिमियर लिग, पारस खड्काको भव्य प्रस्तुति

काठमाडौं: पूर्व राष्ट्रिय क्रिकेट कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजना रहेको अन्तर्राष्ट्रिय मञ्चमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ((एनपीएल) को प्रभावशाली प्रस्तुति दिएका छन्।
क्यानको तर्फबाट बोल्दै खड्काले नेपालको क्रिकेटमा एनपीएलले पुर्याएको योगदान, यसको प्रभाव, फ्यानहरुको सहभागिता, व्यवसायिक विकास तथा नेपालको क्रिकेट भविष्यबारे जानकारी गराएका हुन्। उनले आईसीसीलाई धन्यवाद दिँदै यस्तो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रयास प्रस्तुत गर्ने अवसर प्रदान गरेबापत कृतज्ञता व्यक्त गरे।
‘हामी क्रिकेट राष्ट्रका रूपमा पूर्ण विकसित हुँदैछौं, र एनपीएलले त्यसतर्फको मार्ग प्रशस्त गरिरहेको छ’ खड्काले भने ‘नेपाल अब ठुलो मञ्चका लागि तयार छ।’
कार्यक्रममा एनपीएलको प्रभाव, फ्यान इन्गेजमेन्ट, डिजिटल र सञ्चार क्षेत्रको विस्तार, व्यावसायिक सफलता लगायतका तथ्यांक प्रस्तुत गरिएको थियो । प्रस्तुतिमा लाखौं दर्शक, विज्ञापनदाताको आकर्षण तथा भविष्यको योजनाहरु उल्लेख गरिएका थिए।
आईसीसीको लोगो सहितको विशाल स्क्रिनमा एनपीएलको दृश्य, पारस खड्काको सम्बोधन, सहभागीहरूको उत्साहले नेपालको क्रिकेटप्रति अन्तर्राष्ट्रिय समुदायको चासो झल्किएको थियो।
सिद्धार्थ बैंकको प्रायोजनमा आयोजित एनपीएल नेपालकै सबैभन्दा प्रतिष्ठित घरेलु क्रिकेट लिग बनेको छ। यस लिगले नेपाली क्रिकेटलाई नयाँ दिशा दिँदै अन्तर्राष्ट्रिय मञ्चमा देशको पहिचान बनाउने काम गरिरहेको छ। पारस खड्काको यो प्रस्तुति नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रामा एउटा महत्वपूर्ण उपलब्धि बनेको छ।
#नेपालक्रिकेट #एनपीएल #आईसीसी