एनभिएए अवार्ड: प्रतिभा माली र राजेन्द्र विष्ट वर्षका उत्कृष्ट भलिबल खेलाडी घोषित

अष्ट्रेलिया: राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र राजेन्द्र विष्टलाई अष्ट्रेलियाको सिड्नीमा सम्पन्न एनभिएए अवार्डमा वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको छ।
नेपाल भलिबल संघ अष्ट्रेलिया (एनभिएए) द्वारा आयोजित पहिलो भलिबल अवार्ड कार्यक्रममा महिलातर्फ म्याग्दी काली युनाइटेडकी प्रतिभा माली र पुरुषतर्फ ढोरपाटन क्लबका राजेन्द्र विष्टले उत्कृष्ट खेलाडीको अवार्ड हात पार्न सफल भए। अन्य विधामा पनि महिला र पुरुष दुवै समूहमा उत्कृष्ट खेलाडीहरू पुरस्कृत भएका छन् ।
महिला समूहतर्फ अन्य अवार्ड विजेता:
- उत्कृष्ट स्पाइकर – सरस्वती चौधरी (म्याग्दी काली युनाइटेड)
- उत्कृष्ट सेटर – मिया पुन (म्याग्दी काली युनाइटेड)
- उत्कृष्ट सर्भर – सन्जु पुर्जा (पोखरा/छन्त्याल)
पुरुष समूहतर्फ अन्य अवार्ड विजेता:
- उत्कृष्ट स्पाइकर – दिल सुनार (गल्कोट)
- उत्कृष्ट सेटर – खेम पुर्जा (ढोरपाटन)
- उत्कृष्ट मिडल ब्लकर – अर्जुन अधिकारी (गल्कोट)
- उत्कृष्ट सर्भर – विजय आचार्य (ढोरपाटन)
- उत्कृष्ट लिबेरो – सरोज घर्तीमगर (ढोरपाटन)
अन्य विशेष अवार्ड:
- वर्ष उत्कृष्ट प्रशिक्षक – डोर बहादुर राना (ढोरपाटन)
- वर्ष उत्कृष्ट व्यवस्थापन – मोना अष्ट्रेलिया
- फेयर प्ले टिम अवार्ड – थकाली सेवा समिति
एनभिएएका अनुसार, सिड्नीमा मात्र वार्षिक रूपमा ८ भन्दा बढी खुला पुरुष प्रतियोगिता र ५ भन्दा बढी महिला प्रतियोगिता हुने गर्छन्। न्यु साउथ वेल्स अन्तर्गत हाल १२ क्लब दर्ता छन् जसमा १२ पुरुष, ८ भेट्रान्स र ६ महिला टोली रहेका छन्। प्रत्येक टोलीमा एक जना राष्ट्रिय स्तरको खेलाडी राख्न सकिने प्रावधान रहेको एनभिएएले जनाएको छ ।
सिड्नीमा सक्रिय नेपाली भलिबल क्लबहरूमा ढोरपाटन क्लब, म्याग्दी जलजला परिवार, मोना अष्ट्रेलिया, दि गोर्खा स्पोर्ट्स क्लब, थकाली सेवा समिति, गल्कोट समाज, मंगला समाज, छन्त्याल परिवार, म्याग्दी काली युनाइटेड, पोखरा भलिबल क्लब, पर्वत बेनी र गोल्डेन ब्वाइज क्लब रहेका छन् ।
कार्यक्रममा सन् २००४ देखि अष्ट्रेलियामा नेपाली समुदायमा भलिबलको सुरुवात गर्ने दीपक शेरचन तथा खेल पत्रकार सोमन छन्त्याल र दील तामाङलाई मायाको चिनो प्रदान गरिएको थियो ।