काठमाडौं गोर्खाजको रोमाञ्चक जित, कर्णालीको अपराजित यात्रामा ब्रेक

सिमराः काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकाल्ने क्रममा कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा कर्णालीले प्रस्तुत गरेको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाउँदा कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १८० रनको योगल तयार पारेको थियो। कर्णालीका लागि ओपनिङ ब्याटर आरिफूल इस्लामले विस्फोटक ब्याटिङ गर्दै २२ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए। त्यस्तै हुसैन तलातले ४० रन, पवन सर्राफले अविजित ३० रन र मार्क वाटले १७ रनको योगदान दिए ।
बलिङतर्फ काठमाडौंका कप्तान करण केसीले दुई विकेट हात पारे भने साहब आलम, देव शाह, जहानदाद खान र सन्तोष यादवले एक-एक विकेट लिए।
जवाफमा मैदान उत्रिएको काठमाडौंको सुरुआत भने सोचेजस्तो हुन सकेन । ओपनर डेविड वार्नर १६ रन र स्मिथ पटेल ९ रनमा आउट भए भने मोहम्मद आदिल आलमले २० रन बनाए । संकटमा परेको काठमाडौंको इनिङ्सलाई पाँचौं विकेटका लागि रासिद खान र कप्तान करण केसीले ५५ रनको महत्त्वपूर्ण साझेदारी गर्दै उकासेका थिए ।
रासिद खानले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै उत्कृष्ट ५० रनको अर्धशतकीय पारी खेले भने कप्तान करण केसीले मात्र २० बलमा ४ चौका र ३ छक्काको मद्दतले ४४ रनको आक्रमक इनिङ्स खेले। यसैगरी जहानदाद खान २२ रन र सन्तोष यादव ५ रनमा अविजित रहँदै टिमलाई लक्ष्यसम्म पुर्याए ।
कर्णालीका लागि सोमपाल कामी र हुसैन तलातले समान दुई-दुई विकेट लिए पनि टोलीलाई हारबाट बचाउन सकेनन् ।
लगातार दुई खेल जितेर उत्कृष्ट लयमा रहेको कर्णालीको जारी प्रतियोगितामा यो पहिलो हार हो भने पहिलो जित निकालेको काठमाडौंले तालिकामा महत्वपूर्ण अंक बटुलेको छ।