जनकपुर बोल्ट्स निराश, कर्णाली याक्स विजयी

सिमराः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार साँझ सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध रोमाञ्चक जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले जनकपुरलाई १९ रनले निराश बनाएको हो ।
कर्णालीले दिएको एक सय ३३ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा सबै विकेट गुमाएर एक सय १३ रनमै समेटियो । जनकपुरका लागि ओपनिङमा आएका तृतराज दास एक रनमा आउट हुँदा अर्का ओपनर मयन यादवले १४ रन बनाए । मोइन अलिले १९, अनिलकुमार साहले ११, जेम्स निशामले १५ र हरमित सिंहले १९ रन जोडे । आठौं नम्बरमा क्रिजमा आएका अभिषेक तिवारीले २० रन बनाएर जितको आशा जगाए पनि १९औं ओभरमा हुसेन तलतको बलमा आउट भएपछि जनकपुरको जित्ने आशा समाप्त भएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३२ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए भने पवन सर्राफले ३७, दीपक डुम्रेले १३ र गुलशन झाले १२ रन योगदान गरेका थिए । बलिङतर्फ जनकपुरका हरमित सिंहले तीन, राहुल यादव र मोइन अलिले समान दुई तथा ललित राजवंशीले एक विकेट लिए ।
जनकपुरलाई रोक्ने क्रममा कर्णालीका प्लेयर अफ दि म्याच युनिश ठकुरी र हुसेन तलतले तीन/तीन विकेट हात पारे । यसैगरी नन्दन यादवले दुई र सोमपाल कामीले एक विकेट लिए । जितसँगै पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स पहिलो खेलमै निराश बन्न पुगेको छ ।