साफ यु–२० महिला च्याम्पियनसिप: नेपाल बंगलादेशसँग पराजित

ढाका: साफ यु–२० महिला च्याम्पियनसिपअन्तर्गत आइतबार ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा सम्पन्न खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–२ को रोमाञ्चक हार व्यहोर्न बाध्य भएको छ।
नेपालले पहिलो हाफमा दुई गोलले पछि परेको अवस्था उल्टाउँदै उत्कृष्ट पुनरागमन गरेको थियो, तर खेलको इन्जुरी समयमा निर्णायक गोल खाँदै हार स्विकार गर्न बाध्य भयो ।
घरेलु टोली बंगलादेशका लागि सिना जहान शिखा, सागोरिका श्रीमती त्रिष्णा रानीले गोल गर्दा नेपालका लागि अनिषा राईले पेनाल्टीमार्फत तथा मिना देउवाले अन्तिम समयतिर गोल गर्दै टोलीलाई खेलमा फर्काएकी थिइन् ।
खेलको १३औं मिनेटमा डिफेन्डर गंगा रोकायाले बचाउन खोजेको बललाई सिना जहान शिखाले जाली चुमाउँदै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि ३६औं मिनेटमा गोलकिपर सुजाता तामाङको गल्तीको फाइदा उठाउँदै सागोरिकाले दोस्रो गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन् ।
दोस्रो हाफ सुरु हुनासाथ दुवै टोली १०–१० खेलाडीमा सीमित भए। नेपालकी सिम्रन राई र बंगलादेशकी सागोरिकाबीचको झगडापछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए।
५२औं मिनेटमा नेपालले पेनाल्टी पाउँदै खेलमा फर्कने संकेत गर्यो। अनिषा राईले गोल गर्दै नेपाललाई २–१ मा ल्याइन्। त्यसपछि ८५औं मिनेटमा पूर्णिमा राईको क्रसमा मिना देउवाले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याइन्। तर इन्जुरी समयको आठौं मिनेटमा श्रीमती त्रिष्णा रानी सरकारले निर्णायक गोल गर्दै बंगलादेशलाई ३–२ को रोमाञ्चक जित दिलाइन्।
चार टोली सहभागी डबल राउन्ड रोबिन ढाँचामा भइरहेको प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो। अब नेपालले तेस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। बंगलादेशले श्रीलंकालाई ९–१ ले हराइसकेको छ ।