लुम्बिनीको शानदार सुरुवातः सुदूरपश्चिम सात विकेटले पराजित

सिमराः नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले शानदार सुरुवात गरेको छ । साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै लुम्बिनीले शानदार जित दर्ता गरेको हो ।
किर्तिपुरस्थित टियु मैदानमा ८८ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ९.५ ओभरमा तीन विकेटको क्षतिमा सहज जित हात पार्यो । लुम्बिनीको जितमा ओपनर डार्सी शोर्टले विस्फोटक ब्याटिङ गर्दै ४० रन र आशिफ शेखले ३२ रनको महत्त्वपूर्ण योगदान दिए ।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई र कप्तान दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १७.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २७ रन बनाएका थिए । ओपनर सेफ अलि जैबले १३ रन जोडे भने नवौं नम्बरमा आएका अनिल खरेल १५ रनमा अविजित रहे ।
सुदूरपश्चिमका अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन् । आरिफ शेख र स्कट कुगेलेइन शून्य रनमै पेभेलियन फर्किएका थिए ।
बलिङतर्फ लुम्बिनीका किशोर महतोले चार ओभरमा २८ रन खर्चिएर चार विकेट लिए भने शेर मल्लले चार ओभरमा ११ रन खर्चिएर तीन विकेट हात पारे । कप्तान रोहित पौडेल, तिलक भण्डारी र शेडली भान शाल्कविकले समान १/१ विकेट लिँदै सुदूरपश्चिमलाई सस्तैमा रोक्न महत्त्वपूर्ण योगदान पुर्याएका थिए । शेर मल्ल प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंगलबार दिउँसो १२ः३० मा विराटनगर किङ्स र चितवन राइनोजबीच पहिलो खेल हुनेछ । यसैगरी साँझ ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।
यसअघि प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए ।