नेपालको टू किल (टीटूके) र होरा ईस्पोर्ट्स ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट

सिमराः काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजित पब्जी मोबाइल ग्लोबल ओपन साउथ एसियन च्याम्पियनसिप सम्पन्न भएको छ। इस्पोर्ट्स संघ नेपाल (इशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा भएको यस प्रतियोगितामा भायानेट कम्युनिकेसन्स मुख्य इन्टरनेट साझेदारको रूपमा रहेको थियो ।
प्रतिस्पर्धामा पाकिस्तानको ‘फोरटी वाले’ टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो । पहिलो दिनदेखि नै आफ्नो अग्रता कायम राखेको फोरटी वालेले कुल ३ चिकेन डिनरसहित २०९ अंक जोडेर ९ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगितामा अन्तिम दिन उत्कृष्ट पुनरागमन गर्दै नेपाली टोली ‘टीटुके’ दोस्रो हुन सफल भयो । टीटुकेले २ चिकेन डिनरसहित १८८ अंक जोड्दै ५ हजार ५०० अमेरिकी डलर हात पार्यो । त्यसैगरी अर्को नेपाली टोली ‘होरा इस्पोर्ट्स’ ले ३ चिकेन डिनरसहित १७५ अंक जोडेर तेस्रो स्थान हासिल गर्दै ४ हजार ५०० अमेरिकी डलर जित्न सफल भयो ।
यी शीर्ष तीनवटै टोलीहरू अब पब्जी मोबाइल ग्लोबल ओपन सिजन-२ को मुख्य प्रतियोगिताको लागि छनोट भएका छन् । नेपाल, पाकिस्तान र बंगलादेशका कुल १६ उत्कृष्ट टोलीहरू प्रतिस्पर्धामा सहभागी थिए ।