नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि खेलाडी रजिस्ट्रेसन खुला

काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार एक विज्ञप्ति जारी गर्दै रजिस्ट्रेसन प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको जानकारी दिएको हो।
क्यानका अनुसार एनपिएलमा सहभागी आठ टोलीबाट रिलिज भएका खेलाडीहरू तथा नयाँ इच्छुक खेलाडीहरूले आगामी साउन ६ गतेसम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन् । खेलाडीहरूले ए,
बी र सी गरी तीन वर्गमध्ये आफू अनुकूलको श्रेणीमा दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ। रजिस्ट्रेसनको लागि प्रत्येक खेलाडीले एक हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
क्यानको वार्षिक क्यालेन्डरअनुसार एनपिएलको मिनी अक्सन सन् २०२५ को अगस्ट महिनामा आयोजना गर्ने तयारी गरिएको छ। यद्यपि लिगको मिति तय नभएको जनाइएको छ। सम्भावित रूपमा प्रतियोगिता आगामी नोभेम्बरदेखि डिसेम्बर महिनाको बीचमा सञ्चालन हुने अपेक्षा गरिएको छ।
एनपिएलको पहिलो संस्करण सन् २०२४ मा सम्पन्न भएको थियो। दोस्रो संस्करणप्रति पनि क्रिकेटप्रेमी तथा खेलाडीहरूले उच्च उत्साह देखाएका छन्। यस लिगलाई नेपालको सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता मानिन्छ।