पथलैया टाउन कप: योङ ब्वाईज सेमिफाइनलमा, दुधौरा एफसी क्वाटरफाइनल प्रवेश

पथलैया: बाराको पथलैयास्थित थानीमाई मन्दिरको खेल मैदानमा जारी दोस्रो पथलैया टाउन कप सिक्स-ए-साइड फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा योङ ब्वाईज हुलास र दुधौरा एफसी बिजयी भएका छन् ।
पहिलो खेलमा योङ ब्वाईज हुलासले पथलैया युनाइटेडलाई ३-१ ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
यसैगरी प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा दुधौरा एफसीले बुद्ध ब्वाईज डुमरवानालाई टाईब्रेकरमा ३-२ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ। निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट निकालिएको थियो। क्वाटरफाइनल प्रवेश गरेको दुधौरा एफसीले अब अन्तिम चारका लागि आयोजक पथलैया टाउन एफसीको सामना गर्नेछ ।
प्रतियोगिता अन्तर्गत मंगलबार पनि दुई वटा रोमाञ्चक भिडन्त हुनेछन् । पहिलो खेलमा हुलास एफसी र औराह एफसी आमने-सामने हुनेछन् भने दोस्रो खेल महेन्द्रनगर फुटबल क्लब र विकासशील भेट्रानबीच प्रतिस्पर्धा हुनेछ ।
पथलैया टाउन एफसीको आयोजनामा सञ्चालित यस प्रतियोगितामा कुल २२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँ र उपविजेता टोलीले २० हजार रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।