पथलैया टाउन कप फुटबल: दिव्यज्योती र हुलास एफसी क्वाटरफाइनलमा

पथलैया: पथलैयामा जारी सिक्स-ए-साइड टाउन कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पथलैया दिव्यज्योती क्लब र हुलास एफसी प्रवेश गरेका छन्। पथलैयास्थित थानीमाई खेल मैदानमा शुक्रबार भएका खेलहरूमा जित निकाल्दै दुवै टोली अन्तिम आठमा पुगेका हुन्।
पहिलो खेलमा हुलास एफसीले आयोजक थानीमाई एफसीलाई टाइब्रेकरमा २-१ ले हरायो। निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा हुलासका गोलरक्षक कृष्ण तामाङ नायक बने, जसले थानीमाईका सुमन कुईकेल र दिवस रानामगरको प्रहार विफल पारिदिए। हुलासका तर्फबाट अबि राई र आकाश तामाङले गोल गर्दा थानीमाईका लागि सुमित परियारले मात्र एक गोल गर्न सके।
दोस्रो खेलमा दिव्यज्योतीले बङकुल लामिडाँडा क्लबलाई ६-० को फराकिलो मतान्तरले पराजित गर्यो। दिव्यज्योतीको एकपक्षीय जितमा रुपन मगर, रिजन तामाङ, रोहन तामाङ र नयन श्रेष्ठले गोल गरे।
प्रतियोगिता अन्तर्गत शनिबार पहिलो खेलमा मिसन एकेडेमी र निजगढ एफसी भिड्नेछन् भने दोस्रो खेल चकरी क्लब र गोल्डेन ब्वाइजबीच हुनेछ ।
पथलैया टाउन एफसीको आयोजनामा सञ्चालित यस प्रतियोगितामा कुल २२ टोलीको सहभागिता रहेको छ। च्याम्पियन टोलीले नगद ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।