नवौं हिरोज इन्टरनेसनल तेक्वान्दोमा नेपाली खेलाडीले जिते पदक

सिमराः थाइल्यान्डको पटायामा सम्पन्न नवौँ हिरोज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल भएका छन्। सीतापाइला तेक्वान्दो डोजाङका खेलाडीहरू ओम भण्डारी र खुसी जोशीले प्रतिस्पर्धामा रजत पदक जितेका हुन्।
प्रतियोगितामा भण्डारीले ग्योरोगीको ८० केजीमुनिको तौल समूहमा नेपालका लागि रजत पदक दिलाए । यस्तै दोहोरो पदक विजेता जोशीले महिला १७ वर्षमुनिको एकल पुम्सेमा रजत तथा ग्योरोगीको ४४ केजीमुनिको तौल समूहमा कांस्य पदक जितिन् । अर्का खेलाडी सुविन सापकोटाले ग्योरोगीको ६८ केजीमुनिको तौल समूहमा कांस्य पदक हासिल गरे ।
तीनै जना विजेता खेलाडीहरू सीतापाइला तेक्वान्दो डोजाङका हुन् भने नेपाली टोलीको व्यवस्थापकको जिम्मेवारी प्रल्हाद थापाले सम्हालेका थिए । उक्त अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सीतापाइला तेक्वान्दो डोजाङका प्रमुख एवं अन्तर्राष्ट्रिय रेफ्री बब्लु सिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
भियतनाममा आयोजित दोस्रो जेभी भियतनाम ओपन तेक्वान्दो च्याम्पियनसिप (जी-वान) मा निर्णायकको भूमिका निभाउँदै सिवाकोटी थाइल्याण्ड गएका थिए । उनले अस्ट्रेलियामा सम्पन्न विश्व तेक्वान्दोको वरीयता प्राप्त ओसियना ओपन पारा तेक्वान्दो च्याम्पियनसिप (जी-फोर), डब्लुटिए प्रेसिडेन्ट कप (जी-थ्री), अस्ट्रेलियन ओपन (जी-टु), गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिप (जी-टु) जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् ।
सिवाकोटी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य समेत हुन् ।