बेलायतको मासा सम्मेलनमा नेपालकी नविनाको अनुसन्धान पत्र प्रस्तुत

सिमराः अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री नविना बुढाथोकी मगरले बेलायतमा आयोजित मार्सल आर्ट्स स्टडिज एसोसिएसन (मासा) को १० औँ वार्षिक सम्मेलनमा आफ्नो अनुसन्धान पत्र प्रस्तुत गरेकी छन् ।
युनिभर्सिटी अफ ब्राइटनमा जुलाई २२ देखि २४ सम्म सञ्चालन भएको सम्मेलनमा नविना र सह-अनुसन्धानकर्ता रोजी महर्जनद्वारा संयुक्त रूपमा तयार पारिएको ‘नेपालमा मानसिक तथा मनोवैज्ञानिक सुस्वास्थ्य प्रवर्द्धनमा तेक्वान्दोको भूमिकाबारे एक गुणात्मक अध्ययन’ शीर्षकको अनुसन्धान पत्र प्रस्तुत गरिएको हो ।

उक्त अनुसन्धान पत्र गत जनवरीमा सम्मेलनका लागि छनौट भएको थियो । नविना अध्ययन प्रस्तुतिका लागि बेलायत पुगेकी थिइन् । विश्वका २६ देशका ६८ जना शोधकर्ताहरू सहभागी यस प्रतिष्ठित सम्मेलनमा नेपालबाट नविनाले प्रतिनिधित्व गरेकी थिइन् ।
नविनाले उक्त सम्मेलन अत्यन्तै उपलब्धिमूलक रहेको प्रतिक्रिया दिएकी छिन् । सम्मेलनबाट आफूले थप ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूसँग सहकार्य गर्ने अवसर प्राप्त गरेको बताएकी छन् ।
अन्तर्राष्ट्रिय प्राज्ञिक मञ्चमा नेपाली तेक्वान्दोको मनोवैज्ञानिक पक्षलाई उजागर गर्न पाउँदा निकै खुसी लागेको बताउँदै उनले यस अनुभवले आगामी दिनमा खेलकुद र अनुसन्धानको क्षेत्रमा अझ प्रभावकारी काम गर्ने हौसला मिलेको उल्लेख गरिन् ।
