‘हाइनान बीच तेक्वान्दो’ खेल्न १४ सदस्यी नेपाली टोली चीन प्रस्थान

‘हाइनान बीच तेक्वान्दो’ खेल्न १४ सदस्यी नेपाली टोली चीन प्रस्थान

सिमरा: चीनको हाइनान प्रान्त स्थित सान्या सहरमा आयोजना हुने ‘हाइनान बीच तेक्वान्दो एलिट टुनामेन्ट’ मा सहभागी हुन १४ जना खेलाडीसहितको नेपाली तेक्वान्दो टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । जुलाई २६ देखि ३० सम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्न टोली चीन गएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वबोर्ड सदस्य तथा अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङको नेतृत्वमा गएको उक्त टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता काजल श्रेष्ठले सम्हालेकी छन् । प्रतियोगितामा नेपाली खेलाडीहरूले क्योरुगी, ब्रेकिङ र पुम्से गरी तीन मुख्य विधामा आफ्नो खेल कौशल प्रदर्शन गर्नेछन् ।

क्योरुगीको महिला विधामा दिपश्री तामाङ (३६ केजी), जोलिना बस्नेत (३८ केजी), हृदायणी बस्नेत (३४ केजी) र पार्वती बस्नेत (७३ केजीमाथि) ले प्रतिस्पर्धा गर्दैछन्। यस्तै क्योरुगी पुरुषतर्फ लभयोग सुनुवार (४६ केजी), कुश योग सुनुवार (४६ केजी), सोहन पाठक (२८ केजी), सिर्जल ढकाल (६८ केजी) र छुल्टिम लामा (८० केजी) ले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको ब्रेकिङ विधातर्फ महिलामा पूजा क्षेत्री र पुरुषमा राजकुमार लामा मैदान उत्रिनेछन् । त्यसैगरी पुम्से विधातर्फ १२ वर्षमुनिको प्रतिस्पर्धामा एमी कार्की र अनुप शाक्य तथा १० वर्षमुनिको प्रतिस्पर्धामा अनस्टिन पाण्डेले नेपालको प्रतिनिधित्व गर्दै भिड्नेछन् ।