एशियाली तेक्वान्दो युनियनको प्रशिक्षक समिति सदस्यमा नेपालका कुमार लामा घिसिङ नियुक्त

एशियाली तेक्वान्दो युनियनको प्रशिक्षक समिति सदस्यमा नेपालका कुमार लामा घिसिङ नियुक्त

सिमराः राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य तथा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक कुमार लामा घिसिङ एशियाली तेक्वान्दो युनियनको प्रशिक्षक समिति सदस्यमा नियुक्त भएका छन् ।

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका घिसिङलाई युनियनले सन् २०२६ का लागि प्रशिक्षक समिति सदस्यको जिम्मेवारी प्रदान गरेको हो। उनको नियुक्ति १ जनवरी २०२६ देखि ३१ डिसेम्बर २०२६ सम्म लागू हुने जनाइएको छ।

घिसिङलाई प्रदान गरिएको नियुक्तिपत्र काठमाडौंमा आयोजित रेफ्री पुनर्ताजगी तथा सेमिनार कार्यक्रमको समापन समारोहमा हस्तान्तरण गरिएको थियो। खेलकुद मन्त्रालयका मुख्य सल्लाहकार सिद्धी व्यञ्जनकारले उनलाई प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष दीपराज गुरुङसहित खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

वि.सं. २०५० सालदेखि तेक्वान्दो क्षेत्रमा सक्रिय घिसिङ खेलाडी, प्रशिक्षक र अन्तर्राष्ट्रिय निर्णायकका रूपमा परिचित छन्। उनी दुई कार्यकालदेखि नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यसमितिमा आबद्ध छन् ।

घिसिङ सन् २०२३ मा चीनको हाङ्चाओमा सम्पन्न १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाली तेक्वान्दो टोलीका प्रशिक्षक रहेका थिए । यसअघि सन् २०१८ मा क्यानडामा सम्पन्न जुनियर वर्ल्ड च्याम्पियनसिपमा पनि उनले नेपाली टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

प्रशिक्षक तथा निर्णायकका रूपमा उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका थुप्रै प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । फागुनमा काठमाडौंमा सम्पन्न चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा समेत उनी निर्णायक टोलीमा आबद्ध थिए ।

तेक्वान्दोको छैटौँ डान प्राप्त घिसिङ हाल करिब चार सय खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । उनले वि.सं. २०५७ सालमा स्थापना भएको युनाइटेड तेक्वान्दो डोजाङ तथा विभिन्न विद्यालयमार्फत नियमित प्रशिक्षण सञ्चालन गर्दै आएका छन् ।