हङकङलाई हराउँदै नेपाल बन्यो एसियाली खेलकुद छनोटको च्याम्पियन

सिमराः नेपालले सिंगापुरमा सम्पन्न एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई पराजित गर्दै उपाधि जितेको छ। वर्षाका कारण खेल अवरुद्ध भएपछि डकवर्थ–लुइस–स्टर्न (डिएलएस) प्रणालीअनुसार नेपाल १९ रनले अघि रहेकाले विजेता घोषित भएको हो।
हङकङले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाउँदै एक सय १४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । खेल पुनः सञ्चालन हुन नसकेपछि डिएलएस प्रणालीका आधारमा नेपाल विजयी घोषित भयो।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ४० बलमा ८ चौका र ३ छक्कासहित ६५ रन बनाए । अर्का ओपनर आसिफ शेख खाता नै नखोली आउट भए पनि कुशल र रोहित पौडेलले दोस्रो विकेटका लागि ६३ रनको महत्वपूर्ण साझेदारी गरे । रोहित ३५ रनमा आउट हुँदा कप्तान दीपेन्द्र सिंह ऐरी आफ्नो सयौं टी–२० अन्तर्राष्ट्रिय खेलमा ९ रनमा अविजित रहे ।
यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८८ रनमा सीमित गरेको थियो। हङकङका लागि अंशुमन रथले ८० रन, सहिद वासिफले ५५ रन तथा शिव माथुरले २६ रनको योगदान दिएका थिए ।
नेपालका बलरमध्ये शेर मल्लले ४ विकेट लिए भने करण केसीले २ र सन्दीप लामिछानेले एक विकेट हात पारे।
यस जितसँगै नेपालले प्रतियोगिताको उपाधि जित्नुका साथै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ। नेपाल र हङकङसहित ओमान तथा मलेसियाले यसै वर्ष जापानमा हुने २०औँ एसियाली खेलकुदका लागि छनोट सुनिश्चित गरिसकेका छन्।