राष्ट्रपति रनिङ शिल्डः तेक्वान्दोमा मधेसको दमदार प्रदर्शन, दुई स्वर्णसहित ६ पदक

राष्ट्रपति रनिङ शिल्डः तेक्वान्दोमा मधेसको दमदार प्रदर्शन, दुई स्वर्णसहित ६ पदक

सिमराः काठमाडौंमा जारी १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत तेक्वान्दो खेलमा मधेस प्रदेशले दुई स्वर्णसहित कुल ६ पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कभर्डहलमा सम्पन्न प्रतियोगितामा मधेसले दुई स्वर्ण, दुई रजत र दुई कास्य पदक हात पार्दै पदक तालिकाको तेस्रो स्थान सुरक्षित गरेको हो ।

एथलेटिक्समा अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको मधेस प्रदेशका लागि तेक्वान्दो खेल उपलब्धिमूलक सावित भएको छ। मधेसका समीर नेपाली र खुशी ठाकुरले स्वर्ण पदक जित्दै प्रदेशलाई गौरवपूर्ण सफलता दिलाएका छन् । बाराका समीर नेपालीले पुरुष ४५ केजी तौल समूहमा तथा धनुषाकी खुशी ठाकुरले महिला ५२ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।

यसैगरी महिला ४६ केजी तौल समूहमा बाराकी रिगल बोहोरा र पुरुष ५९ केजी तौल समूहमा बाराकै दिलबहादुर तामाङले रजत पदक जिते । महोत्तरीकी क्याट्रिना फुयाँलले महिला ४९ केजी तथा सिरहाका अनिस यादवले पुरुष ५५ केजी तौल समूहमा कास्य पदक हात पारे ।

प्रतियोगितामा मधेस प्रदेशबाट ६ पुरुष र ६ महिला गरी १२ खेलाडी सहभागी भएका थिए । सहभागीमध्ये १० जना क्योरुगी तथा २ जना पुम्से विधामा प्रतिस्पर्धा गरेका थिए ।

तेक्वान्दोतर्फको अन्तिम पदक तालिकाअनुसार बागमती प्रदेश ५ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित पहिलो स्थानमा रह्यो । सुदूरपश्चिम प्रदेश दुई स्वर्ण, दुई रजत र तीन कास्य पदकसहित दोस्रो स्थानमा रहँदा मधेस प्रदेश तेस्रो भयो ।

यस्तै लुम्बिनी प्रदेश एक स्वर्ण, तीन रजत र पाँच कास्यसहित चौथो, कोशी प्रदेश एक स्वर्ण, एक रजत र चार कास्यसहित पाँचौँ तथा समान पदक संख्या भए पनि गण्डकी प्रदेश छैटौँ स्थानमा सीमित भयो। तीन कास्य पदक जितेको कर्णाली प्रदेश सातौँ स्थानमा रह्यो ।