रुविनाको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित

रुविनाको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित

सिमराः अनुभवी खेलाडी रुविना क्षेत्रीको उत्कृष्ट अलराउन्ड प्रदर्शन तथा सीता राना मगरको महत्वपूर्ण ब्याटिङको मद्दतमा नेपालले एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै समूह चरणमा आफ्नो जितको यात्रा कायम राखेको हो ।

नेपालले दिएको एक सय १४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो। भुटानका लागि डेचेन वाङमोले सर्वाधिक ३९ रन बनाइन् । उनले ६० बलमा ५ चौका प्रहार गरिन् । छाडो ओमले ११ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका बलरहरू प्रभावशाली देखिए। रुविना क्षेत्रीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन् । रिया शर्माले २ विकेट हात पार्दा कविता कुँवर र मनिषा उपाध्यायले समान एक/एक विकेट लिए।

यसअघि क्वालालम्पुरस्थित कोलेज टुवान्कु जाफर ओभल स्टेडियममा टस जितेर भुटानले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो। नेपालको शीर्ष तथा मध्यक्रमका ब्याटरहरू लगातार असफल हुँदा टोली दबाबमा परेको थियो ।

नेपालले ९.२ ओभरमा ६ विकेट गुमाएर मात्र ४७ रन बनाएको थियो। बिन्दु रावल खाता नखोली आउट हुँदा सम्झना खड्काले १०, सोनी पाख्रिनले १३, कप्तान इन्दु बर्माले ५, उपकप्तान पूजा महतोले ८ तथा रुबि पोद्दारले १ रन मात्र जोड्न सके। कविता कुँवर पनि ३ रनमा आउट भएपछि नेपाल १२.३ ओभरमा ७ विकेट गुमाएर ६७ रनको स्थितिमा पुगेको थियो ।

संकटमा परेको नेपालको इनिङ्सलाई सीता राना मगर र रुविना क्षेत्रीले सम्हाले। उनीहरूले आठौं विकेटका लागि ४० रनको महत्वपूर्ण साझेदारी गरे । सीताले २८ बलमा ६ चौकासहित ३७ रन बनाइन् र नेपालको सर्वाधिक स्कोरर बनिन् । रुविनाले २४ रनको योगदान दिइन् । १८.३ ओभरमा रुविना आउट भएपछि नेपालको इनिङ्स थप कमजोर बन्यो र टोली २० ओभर पूरा हुनुअघि नै १ सय १३ रनमा अलआउट भयो। भुटानका लागि सोनाम र छिरिङ जाङमोले समान ३–३ विकेट लिए ।

लगातार दोस्रो जितसँगै नेपालले सेमिफाइनल यात्रालाई बलियो बनाएको छ। महिला एसिया कपको छनोटका रूपमा रहेको एसीसी महिला प्रिमियर कपमा १८ राष्ट्र सहभागी छन्। प्रतियोगिताका सेमिफाइनल पुग्ने चार टोलीले आगामी महिला एसिया कपमा स्थान बनाउनेछन् ।