कुशल भुर्तेलको कीर्तिमानी शतकमा नेपाल समूह विजेता बन्दै एसियाड छनोटको सेमिफाइनलमा

कुशल भुर्तेलको कीर्तिमानी शतकमा नेपाल समूह विजेता बन्दै एसियाड छनोटको सेमिफाइनलमा

सिमराः ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकीय इनिङ्सको मद्दतमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामाथि एक सय ६८ रनको फराकिलो जित निकाल्दै एसियाली खेलकुद (एसियाड) छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

सिंगापुर नेशनल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई पराजित गर्दै समूह ‘ए’ को विजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेको हो। हारका बाबजुद मलेसिया समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ। यसअघि चीनलाई पराजित गरेका नेपाल र मलेसियाले एसियाडमा स्थान भने पक्का गरिसकेका छन्।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७५ रनको विशाल योगफल तयार पारेको थियो। नेपालको इनिङ्समा कुशल भुर्तेल चम्किए। उनले ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतमा १ सय २६ रनको विस्फोटक शतकीय इनिङ्स खेले।

२५ बलमा अर्धशतक पूरा गरेका भुर्तेलले ४४ बलमै शतक पूरा गर्दै नेपालका लागि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दुई शतक बनाउने पहिलो खेलाडीको कीर्तिमान कायम गरे।

उनलाई आशिफ शेखले उत्कृष्ट साथ दिए। आशिफले २४ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६८ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रनको आक्रामक इनिङ्स खेले। सन्दीप जोराले १५ र लोकेश बमले १० रनको योगदान दिए। कुशल मल्ल ९ तथा सोमपाल कामी १ रनमा अविजित रहे।

मलेसियाका लागि विरनदिप सिंहले ३ विकेट लिए भने सयाद अजिज र विजय युन्नीले समान २/२ विकेट हात पारे।

दुई सय ७६ रनको कठिन लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन मात्र बनाउन सक्यो। टोलीका कप्तान सयाद अजिजले सर्वाधिक ५४ रन बनाए भने सरभिन मुनिएन्डीले १८ र मुहम्मद हजिक एमानले १३ रन जोडे। अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका लागि शेर मल्ल सर्वाधिक सफल बलर बने। उनले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान १/१ विकेट लिए ।