नेपालले अस्ट्रेलियामा खेल्ने टप इण्ड टी-२० सिरिजमा ११ टोली सहभागी हुने

नेपालले अस्ट्रेलियामा खेल्ने टप इण्ड टी-२० सिरिजमा ११ टोली सहभागी हुने

सिमराः अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप इन्ड टी-२० क्रिकेट सिरिजमा सहभागी हुने सबै टोलीको टुंगो लागेको छ। प्रतियोगिताको आयोजक उत्तरी क्रिकेट संघ (एनटी)ले सिरिजमा जम्मा ११ टोलीको सहभागिता रहने जानकारी दिएको छ।

एनटीका अनुसार प्रतियोगितामा नेपालका साथै पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान सहभागी हुनेछन्। यिनै अन्तर्राष्ट्रिय टोलीहरूसँगै अस्ट्रेलियाको चर्चित बिग ब्यास लिग (बीबीएल) का पाँच फ्रेन्चाइज टोलीका एकेडेमी टोलीहरूले समेत प्रतियोगितामा भाग लिनेछन्।

ती टोलीहरूमा हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार्स र मेलवर्न रेनेगेड्स रहेका छन्। यसैगरी अस्ट्रेलियाकै दुई स्थानीय टोलीसमेत प्रतियोगितामा सहभागी हुनेछन् ।

सिरिज सन् २०२५ अगस्ट १४ देखि २४ सम्म डार्विनमा सञ्चालन हुनेछ। नेपालले यस टुर्नामेन्टलाई सन् २०२६ मा आयोजना हुने टी-२० विश्वकपको एसिया छनोटको तयारीको अवसरका रूपमा लिएको छ। टी-२० विश्वकपको एसिया छनोट आगामी अक्टोबर १ देखि १७ सम्म ओमनमा हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले टुर्नामेन्टका लागि टोली छनोट तथा तयारी तीव्र बनाएको छ। नेपाली टोली अस्ट्रेलिया प्रस्थान अघि अभ्यास क्याम्पसमेत सञ्चालन गर्ने तयारीमा छ।

यस सिरिजमार्फत नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा अनुभव हासिल गर्ने र युवा खेलाडीहरूको क्षमताको परीक्षण गर्ने अवसर समेत पाउने अपेक्षा गरिएको छ।