अन्तिम समयमा गोल खाँदा नेपाल बंगलादेशसँग पराजित

सिमराः साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल सेमिफाइनलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। बराबरीतर्फ उन्मुख खेलमा नेपालले इन्जुरी समयमा गोल खाँदा फाइनल पुग्ने अवसर गुमाएको हो।
खेलको ९३औं मिनेटमा सगोरिकाले निर्णायक गोल गर्दै बंगलादेशलाई तेस्रो पटक फाइनलमा पुर्याइन्। नेपाली डिफेन्डरहरूले बल क्लियर गर्न नसक्दा त्यसको फाइदा उठाउँदै उनले सहज गोल गरेकी थिइन्।
नेपालले भने खेलको २२औं मिनेटमै अग्रता बनाएको थियो। दीपा शाहीले प्रहार गरेको कर्नर बलमा गीता रानाले उत्कृष्ट हेडमार्फत गोल गर्दै नेपाललाई १–० को अवस्थामा पुर्याएकी थिइन्।
तर दोस्रो हाफ सुरु भएको केही समयमै बंगलादेशले खेल बराबरीमा ल्यायो। ४६औं मिनेटमा ऋतु पोर्ना चक्माले कर्नरबाट सिधै गोल गर्दै स्कोर १–१ बनाइन्। नेपालकी गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बल पञ्च गरे पनि पोस्ट बाहिर पठाउन नसक्दा नेपाल बराबरीमा रोकिएको थियो।
प्रतियोगितामा नेपालले समूह चरणमा भुटानलाई १–० तथा श्रीलंकालाई २–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।
यस जितसँगै बंगलादेश फाइनलमा प्रवेश गरेको छ। अब उसले उपाधिका लागि घरेलु टोली भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।