नेपालद्वारा चीन पराजित, एसियन गेम्स महिला छनोटमा विजयी सुरुवात

काठमाडौं: एसियन गेम्स महिला छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।
नेपालका लागि उपकप्तान पूजा महतोले उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । उनले ५७ बलमा ६ चौका प्रहार गर्दै ६३ रन जोडिन् । चौथो विकेटका लागि उनले रुबी पोदारसँग ६४ रनको महत्वपूर्ण साझेदारी गरिन् । रुबीले २२ रन बनाइन् । कप्तान इन्दु बर्मा भने डकआउट भइन् ।
चीनका लागि मा रुइकीले सर्वाधिक २ विकेट लिइन् भने वाङ हुइङ र जियापिङ लिले समान १–१ विकेट हात पारे ।
१२६ रनको विजयी लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो ।
चीनका लागि कप्तान मिङ्विइ जुले सर्वाधिक ३० रन बनाइन् । उनले २८ बलमा २ चौका प्रहार गरिन् । ओपनर जियापिङ लिले १५ तथा वेइ हेइटिङले १८ रन जोडे । वाङ हुइङले २१ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि रिया शर्माले २ विकेट लिइन् । मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १–१ विकेट हात पारे ।
यस प्रतियोगिताको शीर्ष तीन टोलीले जापानमा हुने एसियन गेम्समा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्।