सडन डेथमा वीरगन्ज युनाइटेड पराजित, आयोजक शक्ति युवा क्लब फाइनलमा

सिमरा: पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक शक्ति युवा क्लबले रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। बलियो टोली वीरगन्ज युनाइटेड क्लबलाई बुधबार सडन डेथमा पराजित गर्दै आयोजक अन्तिम दुईमा प्रवेश गरेको हो।
निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो। टाईब्रेकरमा पनि दुवै टोलीले ३–३ गोल गरेपछि नतिजा सडन डेथमार्फत टुंगिएको हो।
खेलको सुरुआतमै आयोजक टोलीले आक्रामक प्रदर्शन गर्दै अग्रता बनाएको थियो । चौथो मिनेटमा सुजन श्रेष्ठले पहिलो गोल गर्दै टिमलाई अघि बढाए भने १०औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर २–० बनाए । तर उक्त अग्रता जोगाउन नसक्दा खेल प्रतिस्पर्धात्मक बनेको थियो ।
वीरगन्ज युनाइटेडका लागि ३६औं मिनेटमा युवराज खड्काले गोल गर्दै अन्तर घटाए । त्यसपछि ५५औं मिनेटमा सागर चौधरीले बराबरी गोल गर्दै खेललाई २–२ को स्थितिमा पुर्याए ।
बराबरीपछि निर्धारित समयमा थप गोल हुन नसक्दा खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि दुवै टोलीले ३–३ गोल गरेपछि अन्ततः सडन डेथमार्फत आयोजक टोलीले जित सुनिश्चित गर्यो ।
आयोजकका गोलरक्षक रविन बस्नेत उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उनलाई वीरगन्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधाकृष्ण साह रौनियारले पुरस्कृत गरेका थिए ।
प्रतियोगिता अन्तर्गत बिहीबार दोस्रो सेमिफाइनलमा निजगढ फुटबल क्लब र एन्फा मकवानपुरबीच प्रतिस्पर्धा हुनेछ ।
बैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतसहित आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने विधागततर्फ उत्कृष्ट खेलाडीलाई पाँच हजार एक सय रुपैयाँसहित पुरस्कृत गरिनेछ।