जय ट्रफी मेन्स इलिट कपको उपाधि नेपाल पुलिसलाई, आर्मी पराजित

काठमाडौं: नेपाल पुलिस क्लबले ‘जय ट्रफी मेन्स इलिट कप २०८२’ को उपाधि रक्षा गरेको छ। मूलपानी मैदानमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो पटक च्याम्पियन बन्ने सफलता पाएको हो।
गत वर्ष वीरगन्जस्थित नारायणी रंगशालामा भएको फाइनलमा पनि पुलिसले आर्मीलाई नै हराएर उपाधि जितेको थियो।
आर्मीविरुद्ध जितका लागि २२७ रनको लक्ष्य पछ्याएको पुलिसले खेलको तेस्रो तथा अन्तिम दिन चिया सत्रपछिको समयमा लक्ष्य पूरा गर्यो। ५६.४ ओभरमा ६ विकेट गुमाउँदै पुलिसले २३० रन बनायो।
पुलिसको जितमा रशिद खान र कुशल भुर्तेलको साझेदारी निर्णायक रह्यो। रशिदले १२८ बलमा ८ चौका र ३ छक्काको मद्दतले ८१ रनको उत्कृष्ट इनिङ्स खेले भने कुशलले ५१ रनको योगदान दिए। अन्त्यमा दिलशाद अली ३१ र शंकर राना १३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्याए।
आर्मीका लागि साहब आलम र पवन कार्कीले २–२ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।
दोस्रो इनिङ्स: आर्मीको संघर्ष
त्यसअघि दोस्रो इनिङ्समा आर्मीले ७४.२ ओभरमा २२६ रन बनाएको थियो। एक समय कम स्कोरमा समेटिने खतरामा रहेको आर्मीका लागि आकाश चन्द (३७ रन) र साहब आलम (३३ रन) ले नवौँ विकेटका लागि ४७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। भीम सार्कीले ३२ र कुशल मल्लले ३६ रन जोडे।
बलिङतर्फ पुलिसका सागर ढकालले ४ विकेट लिए भने करण केसी र ललित राजवंशीले ३–३ विकेट हात पारे।
पहिलो इनिङ्सको लेखाजोखा
खेलको पहिलो इनिङ्समा दुवै टोलीले समान २२१ रन बनाएका थिए।
आर्मी: पहिलो इनिङ्समा ५८.२ ओभरमा २२१ रन बनाउँदा इम्रान शेखले ५० र भीम सार्कीले ३९ रन बनाएका थिए। पुलिसका रशिद खानले ४ विकेट लिए।
पुलिस: २२२ रनको लक्ष्य पछ्याएको पुलिसले पनि २२१ रन नै बनायो। पुलिसका लागि करण केसीले अविजित ७२ रनको इनिङ्स खेलेका थिए। आर्मीका सोमपाल कामीले ५ विकेट लिएका थिए।
लगातार दुई वर्ष उपाधि जितेसँगै पुलिसले घरेलु क्रिकेटको ‘थ्री डे’ संरचनामा आफ्नो दबदबा कायम राखेको छ।