पर्यटकीय भिसा विवाद: पुरुषसँगै महिला राष्ट्रिय लिग फुटबल स्थगित

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी महिला राष्ट्रिय लिगका खेलहरू अनिश्चितकालका लागि स्थगित गरेको छ। अध्यागमन विभागको पत्राचारपछि उत्पन्न कानुनी जटिलताका कारण एन्फाले यो निर्णय लिएको हो।
यसअघि विभागको पत्रकै आधारमा पुरुष राष्ट्रिय लिग स्थगित गरेको एन्फाले शुक्रबारदेखि लागू हुने गरी महिला लिग रोकेको जानकारी दिएको छ।
अध्यागमन विभागले शुक्रबार एन्फालाई पत्र काट्दै ‘पर्यटकीय भिसा’ मा नेपाल आएका विदेशी नागरिकहरूलाई व्यावसायिक खेलकुदमा सहभागी नगराउन निर्देशन दिएको थियो। श्रम स्वीकृति र कार्य अनुमति बिना विदेशी खेलाडीहरू मैदानमा उत्रिएको विषयमा उजुरी परेपछि विभागले यस्तो कदम चालेको हो।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरका अनुसार शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि लिगका सम्पूर्ण गतिविधि रोकिएका छन्। ‘अध्यागमनको पत्रपछि उत्पन्न परिस्थितिबारे थप छलफल गरेर मात्र अघि बढ्नेछौँ’ तुलाधरले बताए।
गत बुधबारबाट मात्र सुरु भएको महिला राष्ट्रिय लिगमा अहिलेसम्म ४ वटा खेल सम्पन्न भइसकेका छन्। प्रतियोगिता सुरु भएको केही दिनमै प्राविधिक र कानुनी कारणले खेल रोकिँदा सहभागी क्लब र खेलाडीहरू अन्योलमा परेका छन्।
विशेष गरी विभागले श्रम स्वीकृति नलिई विदेशी खेलाडी नखेलाउन कडाइ गरेपछि अब क्लबहरूले विदेशी खेलाडीको कागजी प्रक्रिया पूरा गर्नुपर्ने वा उनीहरू बिना नै लिग अघि बढाउनुपर्ने चुनौती देखिएको छ। एन्फाले अब सरोकारवाला निकायहरूसँग समन्वय गरी लिग पुनः सुरु गर्ने मिति तय गर्ने जनाएको छ।