सन्दीप लामिछाने बेल्जियमको ‘इयू टी–२० लिग’मा अनुबन्धित

सन्दीप लामिछाने बेल्जियमको ‘इयू टी–२० लिग’मा अनुबन्धित

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली लेगस्पीनर सन्दीप लामिछाने बेल्जियममा आयोजना हुने ‘इयू टी–२० लिग’का लागि अनुबन्धित भएका छन्। उनलाई लियेज रेड लायन्सले आगामी सिजनका लागि आफ्नो टोलीमा भित्र्याएको हो।

रेड लायन्सले सन्दीपलाई ‘प्रि-साइन’ मार्फत अनुबन्ध गरेको जानकारी दिएको छ। विश्वका विभिन्न प्रतिष्ठित लिग खेलिसकेका सन्दीपले अब बेल्जियमको मैदानमा आफ्नो जादुमयी बलिङ प्रदर्शन गर्नेछन्।

विश्वचर्चित खेलाडी र प्रशिक्षकसँगको सहकार्य

सन्दीप आबद्ध भएको लियेज रेड लायन्समा अन्य विश्वचर्चित क्रिकेटरहरू पनि अनुबन्धित भइसकेका छन्। टोलीमा अष्ट्रेलियाका विष्फोटक ब्याटर क्रिस लिन र न्यूजील्याण्डका पूर्व अलराउन्डर कोरी एन्डरसन जस्ता हस्तीहरू रहेका छन्।

त्यस्तै दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर हर्षल गिब्स यस टोलीको मुख्य प्रशिक्षकको भूमिकामा रहनेछन्। भेट्रान खेलाडी र प्रशिक्षकको साथमा सन्दीपले रेड लायन्सको बलिङ युनिटलाई नेतृत्व गर्ने अपेक्षा गरिएको छ।

लिगको तालिका र सहभागी टोली

इयू टी–२० लिगको बेल्जियम संस्करण सन् २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका सार्वजनिक गरिएको छ। छोटो अवधिको यस रोमाञ्चक प्रतियोगितामा कुल ६ वटा शहरका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

यी हुन् ६ टोलीः लियेज रेड लायन्स, एन्टवर्प, ब्रुज, लुभेन, गेन्ट, ब्रसेल्स