आईसीसी टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

आईसीसी टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं: आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको हो ।

विश्वकपअघि नेपाली टोलीले श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने कार्यक्रम रहेकाले टोलीलाई बिदाइ गरिएको क्यानले जनाएको छ । नेपाली टोली आइतबार श्रीलंका प्रस्थान गर्नेछ ।

क्यानले टोलीको तयारी सन्तोषजनक रहेको र विश्वकपमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ । अभ्यास खेलहरूले टोलीलाई खेलको रणनीति र संयोजन अन्तिम रूप दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आईसीसी टी–२० विश्वकपको समूह चरणमा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । विश्वकपअघि नेपाली टोलीले श्रीलंकामा श्रीलंका ‘ए’ टोलीसँग तथा भारतमा मुम्बई क्रिकेट एसोसिएसन (एमसीए) प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्नेछ ।

रोहित पौडेलको कप्तानीमा विश्वकपका लागि नेपाली टोली घोषणा भइसकेको छ । क्यानले टोलीले विश्वकपमा नेपालको गौरव बढाउने प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ ।