राष्ट्रिय लिगः चित्लाङसंगको पहिलो खेलमा नव जनजागृति पराजित

राष्ट्रिय लिगः चित्लाङसंगको पहिलो खेलमा नव जनजागृति पराजित

सिमरा: काठमाडौंमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा पहिलो खेल खेलेको नव जनजागृति युवा क्लब पराजित भएको छ । एन्फा कम्प्लेक्समा शनिबार दिउँसो सम्पन्न खेलमा नव जनजागृति चित्लाङ फुटबल क्लबसंग २–१ ले पराजित भएको हो ।

चित्लाङका लागि म्याथ्यु बाबाटुन्डे र सोलोमोन इलेसान्मीले एक–एक गोल गरे भने नव जनजागृतिका लागि उदित नारायण चौधरीले एक मात्र गोल गरे ।

खेलको २८औं मिनेटमा बाबाटुन्डेले गोल गर्दै चित्लाङलाई अग्रता दिलाएका थिए । त्यसको केही मिनेटमै नव जनजागृतिले खेल बराबरीमा ल्यायो । ३६औं मिनेटमा उदित नारायण चौधरीले गोल गर्दै स्कोर १–१ बनाए ।

दोस्रो हाफको ६२औँ मिनेटमा सोलोमोन इलेसान्मीले गोल गर्दै चित्लाङलाई पुनः अग्रता दिलाए । त्यसपछि नव जनजागृतिले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा खेल २–१ मा सीमित रह्यो र पराजय स्वीकार गर्न बाध्य भयो ।

नव जनजागृतिले अब माघ ५ गते पोखराको लालिगुँरास एशोसिएसनसंग प्रतिस्पर्धा गर्नेछ ।

राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएका मोफसलका चार टोली गरी कुल १७ टोली सहभागी छन् । गत कार्तिकमा मकवानपुरको गौरीटार रंगशालामा सम्पन्न प्रेसिडेन्ट लिगको सेमिफाइनलमा पुगेका चार टोली राष्ट्रिय लिगमा छनोट भएका थिए ।

जिल्ला र प्रदेश लिग जित्दै प्रेसिडेन्ट लिग खेलेका नव जनजागृति युवा क्लब, पोखराको लालिगुँरास एशोसिएसन, सुर्खेतको काँक्रेबिहार युवा क्लब र चित्लाङ फुटबल क्लब मोफसलबाट राष्ट्रिय लिगमा स्थान बनाएका टोली हुन् ।