सिमरामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुँदै

सिमरामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा: सिमरामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा प्रतियोगिता हुने शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

रात्री समयमा हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, भारतको कुरुसङ गल्स फुटबल एकेडेमी (दार्जिलिङ) र आयोजक क्लब सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ र उपविजेताले दुई लाख पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

चार वर्षदेखि भेट्रान फुटबल प्रतियोगिता गर्दै आएको सिमरा भेट्रान क्लबले यसपटकदेखि महिला फुटबललाई प्राथमिकतामा राख्दै प्रतियोगिता सुरु गर्न लागेको हो । क्लबका अध्यक्ष राजकपुर राउतले महिला फुटबलको विकासका लागि प्रतियोगिता निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले पछिल्लो समय महिला फुटबलप्रति जनचासो र क्रेज बढ्दो रहेको बताउँदै सिमरालाई महिला फुटबल खेलाडी उत्पादनको केन्द्र बनाउन सकिने विश्वास व्यक्त गरे । ‘विद्यालयदेखि राष्ट्रियस्तरसम्म महिला फुटबलको विकासका लागि यस्ता प्रतियोगिता अपरिहार्य छन् ‘ उनले भने ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की अध्यक्ष चयन गुरुङ र वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठले विद्यालय तहबाटै महिला फुटबलको सुरुवात गर्नु जरुरी रहेको उल्लेख गरे । उनीहरूले प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नव जनजागृति युवा क्लबका महासचिव शम्भु सिंह ठकुरी र सिमरा भेट्रान क्लबका हरी चौधरीले वर्षौंपछि महिला फुटबलको पुनरागमन सिमराका लागि गर्वको विषय भएको बताए ।

सिमरामा २०६५ सालमा पहिलो गणतान्त्रिक राष्ट्रिय महिला फुटबल प्रतियोगिता र २०६९ सालमा एन्फाको आयोजनामा एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । त्यसयता सिमरामा राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना भएको थिएन । यसले विद्यालय तहमा खेल प्रशिक्षण लिएका खेलाडीलाई अवसर नपाएको आयोजकहरूको भनाइ छ ।

कार्यक्रममा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, क्लबका सल्लाहकार विनोद परियार, खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँले लगायतले महिला फुटबल प्रतियोगिताले जीतपुरसिमरामा फुटबल विकासमा नयाँ ऊर्जा दिने धारणा राखे ।

जीतपुरसिमरामा १५ औं संस्करणसम्म सम्पन्न भइसकेको गोल्डकप प्रतियोगिता देशकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक हो । सोही अनुभवका आधारमा निर्माणाधीन सिमरा रंगशालाले अब मधेश प्रदेशस्तरीय तथा राष्ट्रिय खेलकुदको प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

विभिन्न मन्त्री, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले सिमरा रंगशालालाई पूर्वाधार सम्पन्न बनाउने आवश्यकता औँल्याउँदै आएका छन् । आउँदो महिला फुटबल प्रतियोगिताले रंगशालाको उपयोग, सम्भावना र सिमराको पहिचानलाई अझ उजागर गर्ने विश्वास गरिएको छ ।

पत्रकार सम्मेलनको सहजीकरण प्रदीप गौतमले गरेका थिए ।