साफ यु-१७ च्याम्पियनसिप २०२५ : नेपाल आयोजक श्रीलंका र बंगलादेशसँग समूह ‘ए’ मा

काठमाडौं: श्रीलंकाको कोलम्बोमा आगामी सेप्टेम्बरमा आयोजना हुने साफ यु–१७ च्याम्पियनसिप २०२५ को ड्र सार्वजनिक गरिएको छ। बंगलादेशको ढाकामा सम्पन्न ड्रअनुसार नेपाल आयोजक श्रीलंका र बंगलादेशसँग समूह ‘ए’ मा परेको छ।
सात राष्ट्रबीचको प्रतिस्पर्धा हुने प्रतियोगितामा समूह ‘बी’ मा गत संस्करणको विजेता भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन्। ड्र कार्यक्रम साफ महासचिव पुरुषोत्तम कट्टेलको उपस्थितिमा ढाकामा सम्पन्न भएको थियो। कार्यक्रममा यु–२० महिला साफ च्याम्पियनसिपका प्रशिक्षक तथा अफिसियलहरू समेत सहभागी थिए।
प्रतियोगिता सन् २०२५ सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकाको कोलम्बोमा हुनेछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्तर्गतको यो उमेर समूहको प्रतियोगिता आगामी पुस्ताका खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर मानिएको छ।
नेपालले यस प्रतियोगितामा गत वर्ष उल्लेखनीय प्रदर्शन गरेको थियो र यसपटक पनि बलियो टोली बनाएर मैदान उत्रने तयारीमा छ।