साफ यु–२० महिला च्याम्पियनसिप : श्रीलंकामाथि नेपालको सानदार जित

साफ यु–२० महिला च्याम्पियनसिप : श्रीलंकामाथि नेपालको सानदार जित

ढाका: नेपालले साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै श्रीलंकामाथि सानदार जित हात पारेको छ। ढाकास्थित बसुन्धरा मैदानमा बिहीबार सम्पन्न पाँचौं खेलमा नेपालले श्रीलंकालाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा चौथो जित दर्ता गरेको हो।

नेपालका लागि समीक्षा मगर र कुसुम खतिवडाले समान दुई–दुई गोल गर्दा पूर्णिमा राई र बिर्सना चौधरीले एक–एक गोल गरेका थिए। श्रीलंकाली खेलाडीको आत्मघाती गोलले पनि नेपालको जितलाई थप मजबुत बनाएको हो।

पाँच खेल खेलेको नेपालले हालसम्म १३ अंक जोडेको छ। समान खेल खेलेको घरेलु टिम बंगलादेशको १२ अंक रहेको छ।

प्रतियोगिता डबल लिग प्रणालीमा भइरहेको छ। जसअनुसार सबै टोलीले एक–अर्काविरुद्ध दुई पटक प्रतिस्पर्धा गर्नेछन् । लिगको अन्त्यमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

प्रतियोगितामा भारत, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाएका छैनन्। अब नेपालले बाँकी खेलहरू भुटान र बंगलादेशविरुद्ध खेल्नेछ। नेपालले यथावत प्रदर्शन गर्न सके उपाधि उचाल्ने बलियो सम्भावना बनेको छ ।